काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै प्रदेश इञ्चार्जलाई पदमुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले वर्तमान इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरी खाली पद केन्द्रीय सदस्यमार्फत पूर्ति गर्ने निर्णय गरेको हो।
प्रदेश इञ्चार्जको भूमिकामा रहेका सबैजना पार्टीका सचिवालय सदस्य समेत भएकाले २१ फागुनमा हुन लागेको निर्वाचनलाई ध्यानमा राख्दै उनीहरूलाई निर्वाचन–केन्द्रित जिम्मेवारी दिनुपर्ने आवश्यकता महसुस गरिएको रास्वपाले जनाएको छ।
बैठकको निर्णयमा भनिएको छ, ‘प्रदेश इञ्चार्जको भूमिका निर्वाह गरिरहेका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी चुनाव–सम्बन्धी गतिविधिमा संलग्न गराउने र प्रदेश इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरिएको छ।’ अघिल्लो नेतृत्वलाई फिर्ता बोलाए पनि नयाँ इञ्चार्ज कोही तोकिएका छैनन्।
रास्वपाले गत वैशाखमै सातै प्रदेशका इञ्चार्ज तोकेको थियो- कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल । त्यसमध्ये कोशी इञ्चार्ज सन्तोष परियारले यसअघि नै पार्टी त्यागिसकेका छन्।
सहमहामन्त्री विपिन आचार्यका अनुसार आगामी २१ फागुनको निर्वाचन नजिकिएकाले सबै नेतृत्वलाई प्रत्यक्ष चुनाव–केन्द्रित काममा लगाउन प्रदेश इञ्चार्ज संरचनामा फेरबदल गरिएको हो।

























