काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्था सामान्य बनाउने कार्यमा सरकारले उल्लेखनीय प्रगति गरेको दाबी गरेका छन्।
लुम्बिनी प्रदेशको गृह तथा आन्तरिक मामिला मन्त्रालय र कानून मन्त्रालयले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार क्रमशः सफल हुँदै गएको बताए।
उनका अनुसार जेनजी युवाहरूले भदौ २३ र २४ मा गरेका प्रदर्शनपछि उत्पन्न जटिल परिस्थितिमा गठन भएको सरकारले त्रासका बीच पनि सुरक्षा स्थिति स्थिर बनाएको छ।
‘आज हामी सामान्य अवस्थासम्म आइपुग्नु सबै निकायको संयुक्त प्रयासको परिणाम हो,’ गृहमन्त्री अर्यालले भने, ‘सुशासन स्थापना गर्दै आगामी निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको जिम्मेवारी हो।’
अर्यालले सरकारले सुशासन र निर्वाचनलाई मूल लक्ष्य बनाएर काम गरिरहेको उल्लेख गर्दै, चुनाव हुन नसक्ने वा सरकारले गर्न नसक्ने भन्ने अभिव्यक्तिलाई सरकारले आफ्नै काममार्फत जवाफ दिइरहेको बताए।
उनले वर्तमान सरकार कसैको दबाब, इच्छा वा निगाहमा नभई विशेष परिस्थिति र राष्ट्रिय आवश्यकता अनुरूप गठन भएको स्पष्ट पारे। ‘हामी व्यक्तिगत आकांक्षा वा स्वार्थका कारण सरकारमा आएका होइनौँ,’ उनले भने, ‘देशले मागेको विशेष जिम्मेवारी पूरा गर्न हामी यहाँ छौँ।’
आफूमा व्यक्तिगत लोभ–लालसा नखेलेको दाबी गर्दै उनले सरकार सुशासनको बलियो आधार निर्माण र निर्वाचित सरकारलाई जिम्मेवारी सुम्पने वातावरण बनाउन केन्द्रित रहेको बताए।
युवा पुस्ताले प्रश्न उठाइरहँदा पनि राज्यका निकायले सुधार नगर्ने र दोषारोपणमै सीमित रहने प्रवृत्तिले अर्को दुर्घटनाको जोखिम बढाउने चेतावनी पनि उनले दिए।
गृहमन्त्री अर्यालका अनुसार सरकारले निर्वाचन पूर्व, दौरान र पछि सक्रिय भूमिका खेल्ने गरी सबै संयन्त्र तयार पारेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित भएको योजना अनुरूप प्रदेशस्तरका सुरक्षा संरचना पनि कार्यान्वयनमा ल्याइने उनले बताए।
राजनीतिक दलहरूले उठाएको लुटिएका हतियार तथा फरार कैदीबन्दीको मुद्दा बारे उनले धेरै हतियार विशेष अपरेसनमार्फत फिर्ता आइसकेको र कैदीबन्दीको ठूलो संख्या पुनः कारागार फर्किएको जानकारी दिए।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्न प्रदेश सरकार उतिकै प्रतिबद्ध रहेको बताउँदै, फागुन २१ को निर्वाचन निष्पक्ष एवं भयमुक्त बनाउन लुटिएका सबै हतियार फिर्ता हुनुपर्ने र फरार कैदीबन्दी पक्राउ पर्नुपर्नेमा जोड दिए।
गोष्ठीमा गृहमन्त्रालयका सहसचिव सुरेश पन्थीले अहिले सबै तहका सरकार विशेष परिस्थितिमार्फत गुज्रिरहेको उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्नु नै मुख्य प्राथमिकता भएको बताए।
कार्यक्रममा गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल, तीनै सुरक्षा निकायका प्रमुखहरू – नेपाल प्रहरीका दानबहादुर कार्की, सशस्त्र प्रहरीका राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की—लगायत उच्च अधिकारीहरू, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाका रथी प्रदीपजंग केसी र उपरथी प्रेमबहादुर पुनको सहभागिता थियो।

























