काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई वितरण हुने टिकटमा वर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुने बताएका छन्।
फेसबुकमार्फत धारणा राख्दै थापाले नेताहरूले “के पुनः देउवाकै हस्ताक्षरमा चुनाव लड्नुपर्छ ?” भन्ने प्रश्न गरिरहेको तर यस्तो हुने कुनै सम्भावना नरहेको प्रस्ट पारे। उनका अनुसार, विधानअनुसार विशेष महाधिवेशन समयमै सम्पन्न हुनेछ र त्यही महाधिवेशनबाट नयाँ सभापति निर्वाचित हुने भएकाले टिकटमा नयाँ नेतृत्वको हस्ताक्षर रहनेछ।
थापाले भने, “अब विधानबमोजिम विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापति चुनिन्छ। त्यसपछि नयाँ सभापतिको हस्ताक्षरमा निर्णय संशोधित भएर निर्वाचन आयोग पुग्छ, र पार्टीले त्यही हस्ताक्षरमा चुनाव लड्छ।”
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय भएको अवस्थामा आफूले लगातार महाधिवेशन निर्वाचनअघि हुनुपर्ने कारण यही भएको थापाले स्पष्ट पारे। उनले विशेष महाधिवेशनको विकल्प नै नरहेको उल्लेख गर्दै कार्यकर्तालाई अलमलमा नपर्न आग्रह गरे।
कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने भन्ने विषयमा अझै सहमति नजुटेको छ।
























