काठमाडौं । असारको अन्तिममा बाँकी बजेट खर्च गर्न हतारिने पुरानो प्रवृत्ति हटाउँदै सरकारले यस वर्ष हिउँदयाममै काठमाडौंका सडक मर्मतको कामलाई तीव्र बनाएको छ।
काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले उपत्यकाका मुख्य सडकहरूमा रहेका खाल्डाखुल्डी पुर्ने र कालोपत्रे गर्ने कार्य द्रुत गतिमा अघि बढिरहेको छ।
सुन्दर, सफा र सुरक्षित काठमाडौं बनाउने लक्ष्यका साथ सडकको नियमित मर्मत–सम्भारलाई प्रणालीगत बनाउँदै लगिएको छ।
हिउँद सुरु भएकै बेला विकास निर्माणका काम अघि बढ्दा एकातिर पूँजीगत खर्च समयमै हुन पुग्ने तथा अर्थतन्त्र चलायमान बन्ने र अर्कोतर्फ कामको गुणस्तर पनि राम्रो हुने अधिकारीहरूको भनाइ छ।
सरकारले प्रत्येक वर्ष सडक मर्मतका लागि करिब १० अर्ब रुपैयाँ विनियोजन गर्दै आएको छ।

























