काठमाडौँ । पत्रकार तथा रेडियो अडिओका संस्थापक दिपेन्द्र खनिया बानेश्वरस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन्। घटनास्थलको प्रारम्भिक अवस्था हेर्दा आत्महत्याको आशंका गरिएको छ, तर मृत्युको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
एक छोरी र श्रीमतीसहित बस्दै आएका खनिया रेडियो पत्रकारिताका स्थापित नाममध्ये एक हुन्। उनका दाजु रवीन्द्र खनियाको २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायत सञ्चार संस्थामा कार्यरत रहेर उनले २०६३ सालदेखि हास्य–व्यंग्य रेडियो कार्यक्रम पनि सञ्चालन गरेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आइतबार दिउँसो घरको भर्याङको रेलिङमा पासो लागेको अवस्थामा खनियाको शव फेला परेको हो। इन्टरनेटको वायर प्रयोग गरी पासो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटना भएको समयमा खनियाको पत्नी र छोरी घरबाहिर रहेको बताइएको छ। घटनास्थलबाट अहिलेसम्म कुनै सुसाइड नोट फेला परेन।

























