काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। उनले पार्टी नछोडेको तर व्यस्तताका कारण जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्न नसकेकाले राजीनामा दिएको स्पष्ट पारे।
विष्टले भने, ‘पार्टी छाडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको हुँ।’
राजीनामा दिनुअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए। सहभागीले राजीनामा नदिन आग्रह गरे पनि लामो विचार–विमर्शपछि पद छोड्नु उपयुक्त ठानेको विष्टले बताए। पार्टीको प्रचलनअनुसार उनले राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन्।
विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको तर्फबाट काठमाडौं–१० बाट उम्मेदवार भएका थिए।
























