काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तोकिएको बैठक फेरि स्थगित भएको छ । बैठक आगामी शनिबार बस्ने गरी सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पौडेलले जारी गरेको सूचनाअनुसार अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरू सहभागी हुने उल्लेख छ ।
यसअघि मंसिर १ गतेका लागि तय गरिएको बैठक आजसम्म सारिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लगभग एक महिनादेखि जारी छ । महाधिवेशन चुनाव महाधिवेशनअघि गर्ने कि पछि भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद कायम छ ।
बैठकमा सबै नेताहरूले आ–आफ्नो धारणा राखिसके पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने अन्तिम निर्णयका लागि सभापति शेरबहादुर देउवालाई प्रतीक्षा गरिरहेका थिए। उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किए पनि कांग्रेसले महाधिवेशन सम्बन्धी स्पष्ट निर्णय अझै गर्न सकेको छैन।
























