काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलका नेताहरूसँग आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे संयुक्त छलफल गर्ने भएकी छन्। छलफलका लागि दलका नेताहरूलाई आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ।
चुनावमा सहभागिता सुनिश्चित गर्न आयोगमा दर्ता प्रक्रियामा रहेका तथा दर्ता भइसकेका दलहरूसँग एकैस्थानमा व्यापक परामर्श गर्ने उद्देश्यले बैठक डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू तथा जेनजी समूहसँग छुट्टाछुट्टै संवाद गरिसकेकी छन्।
निर्वाचन आयोगको तथ्यांकअनुसार हालसम्म १२५ दल दर्ता भइसकेका छन् भने १८ दल दर्ता प्रक्रियामा छन्। दर्ता भइसकेका यी १२५ दललाई प्रधानमन्त्री कार्यालयमा उपस्थित हुन आग्रह गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
‘सरकारका काम, प्राथमिकता र आगामी चुनाव तयारीबारे जानकारी दिन प्रधानमन्त्रीज्यूले दलहरूलाई आजको बैठकका लागि सिंहदरबार आमन्त्रण गर्नुभएको हो,’ रावलले भने।
फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने भएकाले कार्की नेतृत्वको सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु हो। आजको संयुक्त छलफल पनि चुनाव केन्द्रित हुने जनाइएको छ।
निर्वाचन आयोगमा दर्ता भएका दलले आगामी निर्वाचनका लागि फेरि दल दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। आयोगले मंसिर १० गतेसम्मको समय तोकेको छ।
























