काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बुधबार) दिउँसो २ बजे बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। बैठकका लागि १० बुँदे कार्यसूची तयार गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार बैठकमा सभापति रवि लामिछानेसम्बन्धी मुद्दाको कानुनी अवस्थाबारे ब्रिफिङसँगै समसामयिक राजनीतिक परिस्थिति, संवाद तथा सहकार्यका पहलकदमीलगायत विषयमा छलफल हुनेछ।
यस्तै हालै सम्पन्न केन्द्रीय समिति विस्तारित बैठकको मूल्याङ्कन, प्रस्तुत प्रतिवेदन संशोधनसहित पारित गर्ने तथा वाचापत्र कार्यदल विस्तार गर्ने एजेण्डा पनि बैठकमा समावेश गरिएको रास्वपाले जनाएको छ।
रास्वपाले संविधान परिमार्जन कार्यदलका संयोजक तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिने तयारी गरेको छ।
बैठकले आगामी निर्वाचनसम्म दैनिक रूपमा मिडिया अनुगमन तथा विश्लेषण गरी केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने जिम्मेवारीसहित मिडिया अध्ययन कार्यदल गठन गर्नेछ। आवश्यक परे घटनाबारे सूचनासमेत संकलन गरी समितिमा प्रस्तुत गर्ने उक्त कार्यदलको भूमिकाका रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी, पार्टीले राजनीति अध्ययन कार्यदल गठन गर्ने एजेण्डा पनि अघि सारेको छ। यस कार्यदलले विभिन्न राजनीतिक दल, समूह तथा शक्तिहरूका गतिविधि निरन्तर अध्ययन–विश्लेषण गर्दै आवश्यक सूचनाहरू केन्द्रीय समितिमा प्रतिवेदन गर्ने प्रवक्ता झाले बताए।
























