काठमाडौं । नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरिएको छ । नेपाल कमर्स क्याम्पसमा बसेको पदाधिकारी बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जेन–जी आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु भएको घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै कडरियाले सामाजिक सञ्जालमार्फत त्यतिबेलै राजीनामा घोषणा गरेका थिए ।
बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई नयाँ महासचिव बनाउने र अन्य पदाधिकारी भने यथावत् राख्ने निर्णय गरेको जानकारी अध्यक्ष धामीले बताएका छन् ।
कडरियाले सार्वजनिक रूपमा दिएका बयान तथा राजीनामालाई नै आधार बनाएर निर्णय पारित गरिएको जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले बताए । “पार्टीसँग परामर्श गरेरै साथीहरूले निर्णय गर्नुभएको हो,” उनले भने। उनका अनुसार पदाधिकारी बैठकको सर्वसम्मत निर्णय अब आवश्यक प्रक्रिया पूरा गर्न केन्द्रीय कमिटीमा पेस गरिनेछ।
बैठकपछि कडरियाले आफ्नो राजीनामा स्वीकृत भएकामा धन्यवाद व्यक्त गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया जनाए ।
उनले लेखेका छन् – आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु।आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन्। मैले कसैप्रति जानअन्जानमा कुनै गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु। मेरा अनुभव, संघर्ष र उतार चढावहरू यही यात्रासँगै टुंगिएका छन्।अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु। कुनै पनि अधुरो अन्त्य वास्तवमै अन्त्य हुँदैन,यो नयाँ यात्राको सुरुवात मात्र हो।आजको बैठकबाट जिम्मेवारी पाउनुभएका अध्यक्ष दीपक धामीज्यू लगायत सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु। यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ। साथै, यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको र हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष हार्दिक अपिल गर्दछु।

























