काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य रहेका सन्तोष परियारले पार्टी छोडेका छन् । रास्वपालाई नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टी बनाउन नसकेकोमा दुःख व्यक्त गर्दै उनले पार्टीबाट राजीनामा दिएका छन् ।
विघटित प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक रहेका परियारले निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुस्खी छु।’
महामन्त्रीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ, ‘नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुखी छु। यसै सन्दर्भमा, गएको भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen-z) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ।’
जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलेको भन्दै उनलको पत्रमा भनिएको छ, ‘नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ। तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कार्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु।’
अब ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा गरे पनि परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन् ।
‘अहिले सन्तोष परियार र जनार्दनजी सँगै हुनुहुन्छ, उहाँहरूबीच छलफल भइरहेको छ,’ समाचार स्रोतको दावी छ ।
पछिल्लो समय आन्तरिक असन्तुष्टि बढिरहेका बेला रास्वपाबाट निरन्तर नेताहरू बाहिरिने क्रम जारी छ । यसअघि पार्टीकी पूर्वमन्त्री सुमना श्रेष्ठले राजीनामा दिइसकेकी छन्। त्यस्तै, तोसिमका कार्की र अन्य केही नेताहरू पनि पार्टी छाड्ने तयारीमा रहेको चर्चा छ ।

























