काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दललाई दल दर्ताका लागि आह्वान गरेको छ।
आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म, र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ गतेदेखि ७ गतेसम्म गर्न सकिनेछ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेको हुनुपर्ने आयोगले जनाएको छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते राष्ट्रिय सभा निर्वाचन तोकिएको छ। राष्ट्रिय सभामा १९ सदस्यको कार्यकाल फागुन २० मा समाप्त हुँदैछ, जसमा एक जना राष्ट्रपतिद्वारा मनोनित सदस्य पनि छन्। बाँकी १८ सिटका लागि माघ ११ गते निर्वाचन हुनेछ।
प्रदेशगत सिटसंख्या यसप्रकार रहेको छ–
कोशी : ३
मधेश : ४
बागमती : २
गण्डकी : २
लुम्बिनी : ३
कर्णाली : २
सुदूरपश्चिम : २
राष्ट्रिय सभा चुनावका मतदाता प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष रहनेछन्।
























