काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र महाधिवेशनसम्बन्धी बढ्दो विवाद समाधानका लागि आज (शुक्रबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आगामी २१ फागुनमा हुने निर्वाचनलाई मध्यनजर गर्दै महाधिवेशनको तिथि–मिति तय गर्ने विषयमा सहमति खोज्न बैठक बस्न लागेको हो।
बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजे सुरु हुने बताइएको छ। एक पदाधिकारीका अनुसार चुनावअघि नै महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादलाई टुंग्याउन आजको बैठक महत्त्वपूर्ण रहनेछ।
२८ असोजदेखि चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा विभाजित छन्—एक पक्षले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने तर्क राख्दै आएको छ भने अर्कापक्ष महाधिवेशन चुनावपछि गर्नुपर्छ भन्ने अडानमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समूहले पुसभित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएको छ।
महामन्त्री थापाले बिहीबारको बैठकमा २७ मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। त्यसैगरी महामन्त्री शर्माले नियमित महाधिवेशन हुन नसके पुसभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने विधानगत बाध्यता रहेको बताएका छन्।
संस्थापन पक्षभित्र पनि यस विषयमा एकरूपता छैन। सभापति शेरबहादुर देउवानिकट नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा देखिए पनि करिब दुई दर्जन केन्द्रीय सदस्य भने चुनावअघि नै महाधिवेशन गर्नुपर्ने धारमा छन्।
विशेष महाधिवेशन पक्षधर समूहद्वारा आज युवा भेला
विशेष महाधिवेशनका पक्षधर समूहले आज (शुक्रबार) युवा भेला आयोजना गर्दैछ। उक्त समूहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार भेला नयाँ बानेश्वरस्थित थापागाउँको एक बैंक्वेटमा दिउँसो १२:३० बजे सुरु हुनेछ।
यसअघि बिहीबार सो समूहले थापागाउँमै महिला भेला पनि सम्पन्न गरेको थियो। विशेष महाधिवेशन माग गर्दै १४औं महाधिवेशनका झन्डै ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।
२८ असोजदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको तिथि–मितिका सम्बन्धमा निरन्तर विवाद चलिरहेको छ। संस्थापन समूहले २१ फागुनको निर्वाचनपछि महाधिवेशन हुनुपर्ने बताउँदै आएको छ भने इतर समूहले पुसभित्र नियमित महाधिवेशन, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेको छ।
नेताहरूले आफ्नो धारणा राख्ने प्रक्रिया बिहीबार सकिएको र अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
























