काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते तय गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनका तयारीका सन्दर्भमा विभिन्न राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू, तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल — नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायतका दलका प्रतिनिधिहरू सहभागी थिए।
आयोगका सचिव महादेव पन्थले छलफलमा दलहरूको सुझाव संकलन गरी त्यसका आधारमा निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।
संविधान तथा कानुनअनुसार राष्ट्रियसभा सदस्यको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। यही प्रावधानअनुसार आगामी निर्वाचन हुन लागेको हो।
राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते समाप्त हुँदैछ। तीमध्ये १८ सिटका लागि निर्वाचन हुनेछ भने बाँकी एक सदस्यलाई राष्ट्रपति द्वारा मनोनीत गरिनेछ।
यस निर्वाचनका लागि प्रदेशसभाका सदस्य तथा सो प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदाता हुनेछन्। प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखको मतभार १८ निर्धारण गरिएको छ।
























