धनगढी । नेकपा (एमाले) का नेता तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनेमा कुनै शंका नरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल, कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले ओली सर्वसम्मत रूपमा अध्यक्ष बन्ने विश्वास व्यक्त गरे। उनले भने, “२०३६ सालदेखि म एमालेको पूर्णकालीन कार्यकर्ता हुँ, कुनै पेसा वा व्यवसायमा संलग्न छैन। मेरो अनुभवले भन्छ— नेकपा एमालेले वर्तमान नेतृत्वलाई सर्वसम्मत रूपमा निरन्तरता दिनेछ। त्यसमा कुनै शंका छैन।”
यद्यपि सर्वसम्मति नबने पनि पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा हुने उल्लेख गर्दै उनले त्यसले पार्टीलाई कुनै नोक्सान नपुग्ने दाबी गरे।
अधिकारीले वर्तमान सरकार असंवैधानिक बाटोबाट बनेको आरोप लगाउँदै जनताको म्यान्डेट लिन डराएको टिप्पणी गरे। उनले भने, “अहिलेको सरकारले जनादेश लिन चाहेको छैन, तर नेकपा एमाले चुनावसँग डराउँदैन।”
उनका अनुसार हाल ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक लुटिएको अवस्थामा पनि सरकार सुरक्षा सुनिश्चित गर्न असफल भएको छ। “भयरहित वातावरण बनाउने जिम्मेवारी सरकारको हो, तर त्यसतर्फ ध्यान दिइएको छैन,” अधिकारीले बताए।
एमाले सडकमा आउनुको कारण डर होइन, परिस्थितिले त्यसो गर्न बाध्य बनाएको उनले स्पष्ट पारे। साथै, एमाले छाडेर मातृभूमि अभियान सञ्चालन गरिरहेका भीम रावलले अर्को कम्युनिस्ट पार्टीमा प्रवेश गरे पनि त्यसले एमालेलाई कुनै क्षति नहुने उनको भनाइ छ।
सामाजिक सञ्जाल नियमन, सुशासन र भ्रष्टाचारविरुद्ध २३ भदौमा जेन-जी पुस्ताले गरेको आन्दोलन ‘हाइज्याक’ गरिएको दाबी गर्दै अधिकारीले भने, “संविधानले कल्पना नगरेको बाटोबाट सर्वोच्चका पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बनेर युवाका माग हाइज्याक गरिएको छ। यो देशलाई कमजोर पार्ने खेल हो।”
























