काठमाडौं । लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले निर्माण गरेका संरचना काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।
बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो र स्काउटको जग्गामा बनेका संरचनाहरू भत्काएर खाली गराइएको हो।
खड्काको कम्पनी खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि ले स्काउटको राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो। तर लामो समयदेखि भाडा नतिरेपछि नेपाल स्काउटले कात्तिक २० गते सूचना जारी गर्दै सात दिनभित्र बक्यौता भुक्तानी गर्न चेतावनी दिएको थियो। उक्त म्याद आज सकिएपछि स्काउटले महानगरको सहयोगमा जग्गा खाली गराएको हो।
जग्गा खाली गराउने कार्यमा युवा तथा खेलकुदमन्त्री बब्बु गुप्ता स्वयं उपस्थित थिए। मन्त्री गुप्ताको उपस्थितिमा गरिएको कारबाहीबारे उनका सचिवालयले जानकारी दिएको छ।
लैनचौरस्थित कित्ता नम्बर १० को उक्त जग्गा ९३ रोपनी रैकर० खानी विभागसँग जोडिएको छ। नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे भाडा सम्झौता भएको थियो। सम्झौताको अवधि २०७५ सालमै समाप्त भए पनि कम्पनीले जग्गा नछाडेपछि स्काउटले कानुनी प्रक्रिया अघि बढाएको हो।

























