काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीभित्र देखिएको अस्थिरता र गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्दै एकताको आह्वान गरेका छन्। मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले अहिलेको अवस्था कांग्रेसको इतिहासकै संवेदनशील क्षण भएको टिप्पणी गरे ।
जेनजी आन्दोलनलाई भण्डारखाल पर्वसँग तुलना गर्दै उनले भने, “नेपालको इतिहासमा पहिलो डरलाग्दो घटना भण्डारखाल पर्व भनिन्छ, तर अहिले त्योभन्दा पनि डरलाग्दो अवस्थामा लामो इतिहास बोकेको हाम्रो पार्टीको बैठक चलिरहेको छ।”
गिरीले पार्टीभित्र व्यक्तिगत स्वार्थ र विभाजनमूलक सोच त्याग्न नेताहरूलाई आग्रह गरे। “मेरो आग्रह छ — कार्यवाहक सभापति, महामन्त्री, सह–महामन्त्रीज्यूहरू र सबै साथीहरूलाई — चार तारा, रुख र एकतालाई सोचौं। धेरै व्यक्तिवादी भएर केही हुँदैन,” उनले भने।
नेता गिरीले नेकपा एमालेको उदाहरण दिँदै कांग्रेसले पनि आफ्ना भ्रातृ संगठनहरूलाई सक्रिय बनाउँदै संगठनात्मक जीवन्तता ल्याउनुपर्नेमा जोड दिए। उनका अनुसार, एमालेले जस्तै पार्टीका संवद्ध संगठनहरूलाई चलायमान बनाउन सके कांग्रेसले पनि जनस्तरमा पुनः ऊर्जा प्राप्त गर्न सक्छ।
“मेरो भनाइ स्पष्ट छ — चार तारालाई सम्झिऊँ, शहीदहरूको बलिदान सम्झिऊँ,” उनले जोड दिए, “एकतामा जाऊँ, धेरै नाटक नगरौं।”

























