काठमाडौं । सय केजी सुनकाण्डमा संलग्न रहि कैद सजाय काटिरहेका र जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएका कैदी हर्कराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ–४ पासीकोट बसोबास गर्दै आएका ५१ वर्षीय राईलाई पक्राउ गरेको हो। उनी भदौ २४ गते जेनजी आन्दोलनको बेला सुन्धारास्थित केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए।
राई संगठनात्मक अपराध, सुन भन्सार चोरी–पैठारी र नेपाल राष्ट्र बैंकसम्बन्धी कसुरमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए। उनी बहुचर्चित सय केजी सुन प्रकरणका अभियुक्तसमेत हुन्।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका राईलाई पुनः केन्द्रीय कारागारमै बुझाइएको छ।



















