काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकालाई सुकुम्बासी समुदायप्रति दम्भ र तिरस्कारपूर्ण व्यवहार नगर्न चेतावनी दिएको छ ।
आइतबारदेखि सुकुम्बासी बस्ती हटाउने महानगरको तयारीप्रति आपत्ति जनाउँदै अलायन्सले उत्पीडित जनतामाथि बेवास्ता र अपमानको नीति नअपनाउन आग्रह गरेको हो। आज जारी गरिएको विज्ञप्तिमा अलायन्सले बसोबास उठाउने द्वन्द्व सिर्जना गर्नुको साटो समस्याको दीगो समाधान खोज्न सुझाव दिएको छ।
अलायन्सका अनुसार भूमिहीन र अव्यवस्थित बसोबासीहरू वर्षौँदेखि कठिन परिस्थितिमा जीवनयापन गरिरहेका छन्। उनीहरूलाई देशभित्रै आप्रवासीझैँ व्यवहार गर्दै बासस्थान खोस्ने कार्य अस्वीकार्य र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “काठमाडौं महानगरपालिकाले पर्याप्त अध्ययन, विकल्प र सहमति बिना नै पुनः बस्तीहरूमा डोजर चलाउने तयारी गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जनसंख्याको ठूलो हिस्सा आफ्नै देशमा भूमिहीन र बिस्थापित बन्नु राज्यको ऐतिहासिक अन्याय, विभेद र सामाजिक असंवेदनशीलताको परिणाम हो। यस्ता निर्णयहरू गम्भीर र खेदजनक छन्।”
अलायन्सले मौजुदा कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारका विषयमा स्पष्ट व्यवस्था गरेको भए पनि त्यसको पालना नगरी भय र आतंकको वातावरण सिर्जना गरिएको आरोप लगाएको छ। साथै, सम्बन्धित समुदायसँग संवाद र सहमतिमार्फत व्यवस्थापनका उपाय अपनाई काठमाडौं महानगरले साझा सहरको उदाहरण प्रस्तुत गर्नुपर्ने सुझाव पनि दिएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “निहत्था र उत्पीडित जनतामाथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र प्रयोग नगरोस्। सार्वजनिक सम्पत्ति मूलतः जनताको हो, राज्यले त्यसको व्यवस्थापन मात्र गर्छ भन्ने कुरा बिर्सनु हुँदैन। त्यसैले जनउत्तरदायी व्यवहार अपनाउन काठमाडौं महानगरपालिका सहित सबै सरकारी निकायहरूलाई हामी आग्रह गर्दछौं।”

























