काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, विकास र लोकतन्त्र सुदृढीकरणमा सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा सार्वजनिक सेवा प्रसारण र एन टिभी वर्ल्डको औपचारिक उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले लोकतन्त्रको सुदृढीकरण र जनताले यसको प्रतिफल पाउने वातावरण बनाउन सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान दिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले भने, “नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त लोकतन्त्रलाई अझ सुदृढ बनाउन र जनतालाई यसको लाभ दिलाउन सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ।”
उनले सुशासन र लोकतन्त्रलाई अझ उन्नत बनाउन फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै पक्षले साथ दिनुपर्नेमा जोड दिए। “युवा पुस्ताले सुशासन र विकासप्रति देखाएको चाहनालाई सम्बोधन गर्न सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ,” उनले भने।
राष्ट्रपति पौडेलले सञ्चारकर्मीलाई नागरिकलाई सकारात्मक परिवर्तन, विकासका सम्भावना र अवसरबारे जानकारी दिन दत्तचित्त भएर लाग्न आग्रह गर्दै भने, “सार्वजनिक सेवा प्रसारण कुनै सरकारी वा व्यावसायिक स्वार्थमा आधारित संस्था होइन। यो नागरिकको संस्था हो, जसले सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्नुपर्छ।”
उनले सार्वजनिक प्रसारण माध्यमलाई स्वतन्त्र र स्वायत्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै भने, “लोकतान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताका सिद्धान्तअनुसार निष्पक्ष, उत्तरदायी र पारदर्शी सञ्चार सुनिश्चित गर्नु सार्वजनिक सेवा प्रसारणको प्रमुख दायित्व हो।”
राष्ट्रपति पौडेलले सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको र त्यस्ता सूचनाको प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य तथा जिम्मेवारी हो भनेर स्पष्ट पारे। पछिल्लो समय गलत र भ्रामक समाचार फैलिने प्रवृत्तिप्रति उनले चिन्ता व्यक्त गर्दै जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए।
साथै, सूचना प्रविधि र सामाजिक सञ्जालको तीव्र विकाससँगै नागरिक पत्रकारिता सबल बनेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोगबाट भ्रम र मिथ्या सूचना फैलाउने जोखिमबाट जनतालाई जोगाउनु जिम्मेवार सञ्चार संस्थाको कर्तव्य भएको बताए।
राज्यले स्थापना गरेको रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्न गरिएको प्रयासको प्रशंसा गर्दै उनले भने, “दुवै संस्थाको गौरवमय इतिहासलाई जोगाउँदै नयाँ परिप्रेक्ष्यमा एउटै लयमा अघि बढाउन चुनौती त छ, तर हरेक चुनौतीसँगै अवसर पनि हुन्छ। यी अवसरलाई सदुपयोग गर्न सरकार पूर्ण रूपमा सहकार्य गर्न तयार छ ।”
























