काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित आफूनिकट नेताहरूको भेलामा आगामी रणनीति र योजनाबारे जानकारी दिँदै उनले नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुने स्पष्ट धारणा राखे।
भेलामा जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा कोइरालाले भने, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्र सम्पन्न हुनुपर्छ। यदि त्यो समयमा सम्भव नभए पनि २०८२ पुस मसान्तभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्छ। आउँदो आम निर्वाचनअघि नयाँ र ताजा नेतृत्वका साथ चुनावमा जानुपर्छ।”
उनले निर्वाचन आयोगले तोकेको निर्वाचन तालिकासँग नबाझिने गरी पार्टीले महाधिवेशनको कार्यतालिका तयार गर्नुपर्ने सुझाव पनि दिए ।
कोइरालाले पार्टीभित्र एकता र मेलमिलापको आवश्यकता जोड दिँदै भने, “विगतका आरोह–अवरोहपछि अहिले हामी सबैले एकताको भावना बोकेर अघि बढ्नुपर्छ। कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच राख्नु हुँदैन । गुट, उपगुट र फुटको अन्त्य गरेर पार्टीलाई मजबुत बनाउनुपर्छ ।”
उनका अनुसार, यदि वर्तमान केन्द्रीय समितिले तोकिएको समयमा नियमित महाधिवेशनको मिति र कार्यतालिका घोषणा गर्न सकेन भने विशेष महाधिवेशन स्वचालित रूपमा हुनुपर्ने व्यवस्था छ।
भेलामा सहभागी नेता डा. गोविन्द पोखरेलले कोइरालालाई उद्धृत गर्दै भने, “यदि जारी केन्द्रीय समितिबाट नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइएन भने, विशेष महाधिवेशन केन्द्रीय समितिकै निर्णयबाट स्वतः हुनेछ। त्यसका लागि कार्यविधि तयार पार्दै समिति आफैंले तयारी थाल्नुपर्छ।”
कोइरालाले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने र त्यसबाट पार्टीलाई चुनावका लागि सशक्त रूपमा उभ्याउने लक्ष्य दोहोर्याए।

























