चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र नेतृत्व आयात गर्ने अभ्यास अस्वीकार्य हुने स्पष्ट धारणा अघि सारेको छ।
चितवनको सौराहामा जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ‘चर्चित व्यक्ति भित्र्याउने नाममा मूल नेतृत्व आयात गर्न नसकिने’ निष्कर्ष प्रस्तुत गरिएको हो ।
हालका दिनमा कुलमान घिसिङलगायत व्यक्तिहरूलाई पार्टीमा ल्याउने विषयमा आन्तरिक तहमा छलफल भइरहेका बेला रास्वपाले यस्तो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
कुलमान घिसिङप्रति लक्षित गर्दै अर्यालले भनेका छन् – ‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भनेर कुरा गर्दाको साक्षी मै हुँ, तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन । अहिले पनि हामी उहाँहरूलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छौं । तर, यो पार्टीको इतिहास र पहिचान उहाँहरूले पनि बुझ्नु पर्छ । पार्टी बनाउने चाहानालाई स्वागत छ । तर, ‘कब्जा’गर्ने नियतको चाहिँ खुला प्रतिवाद गर्छौं नै ।’
अर्यालले पार्टीभित्र ‘रिफर्म’ (सुधार) आवश्यक भए पनि त्यसको नाममा नेतृत्व फेर्ने वा बाहिरबाट प्रमुख व्यक्तित्व भित्र्याउने सोच अस्वीकार्य हुने बताएका छन्। उनले भनेका छन् “रिफर्म वा स्वागतको बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने नीति र प्रचार स्वीकार्य छैन। अहिलेको नेतृत्वलाई विस्थापित होइन, स्थापित गर्दै अघि बढ्नुपर्छ।”
उनका अनुसार रास्वपा अहिले ४० महिनाको यात्रा पूरा गरेको, सिक्ने र बनिरहने क्रममा रहेको पार्टी हो। त्यसैले पूर्ण रूपमा भत्काएर पुनः निर्माण गर्नुपर्ने होइन, संरचनागत परिमार्जन गर्दै अघि बढ्नुपर्ने उनको मत छ।
अर्यालले प्रतिवेदनमा ‘पार्टी रिफर्मको आवाज र यथार्थ’ शीर्षकमा छुट्टै खण्ड समावेश गर्दै, पार्टीभित्र देखिएका विचार र प्रवृत्तिगत कमजोरीहरूको आत्मसमिक्षा पनि गरेका छन्। उनले भनेका छन् —
“हामी सबैमा मानवीय कमजोरी र सीमाहरू छन्। त्यसैले सामूहिक नेतृत्वको अभ्यास आवश्यक छ। तर, आफूलाई सर्वगुण सम्पन्न र अरूलाई गुणहीन ठानी रिफर्मको योजना बनायौँ भने त्यो राजनीतिक दृष्टिले कच्चो बुझाइ हुनेछ।”
‘रिफर्म’ को नाममा प्रतिगमनको चेतावनी
अर्यालले पार्टीभित्र सुधारको बहानामा प्रतिगमनको सम्भावना हुन सक्ने चेतावनी पनि दिएका छन्। उनका अनुसार, “‘रिफर्म’ नीति, विचार, विधान र कार्यशैलीमा आधारित हुनुपर्छ, केही पद वा व्यक्तिको व्यवस्थापनका लागि मात्रै होइन। पदपूर्ति वा जिम्मेवारी हेरफेर नियमित अभ्यास हुन्, रिफर्म होइन।”
उनले पार्टीमा कुनै पनि पद थपघट वा परिवर्तन गर्नुअघि विधान संशोधन अनिवार्य हुने स्मरण गराउँदै भने — “विधानविपरीत कुनै पनि परिवर्तन सम्भव छैन। यदि पदाधिकारी परिवर्तनको कुरा हो भने, त्यसका लागि महाधिवेशन पर्खिनुपर्छ।”
अर्यालले विस्तारित बैठकले पार्टीको संरचनामा ठूला फेरबदल गर्न सक्दैन भन्दै, सुधारसम्बन्धी प्रस्तावहरूलाई महाधिवेशनसम्म खुला छलफलमा लैजानुपर्ने सुझाव दिएका छन्। “आग्रह–पूर्वाग्रह वा व्यक्तिगत महत्वाकांक्षा होइन, गम्भीर र सार्थक बहसका माध्यमबाट मात्र पार्टीलाई नयाँ गतिको दिशामा अघि बढाउन सकिन्छ,” उनले निष्कर्षमा भनेका छन्।
यसरी, रास्वपाको राजनीतिक प्रतिवेदनले पार्टी नेतृत्वमा निरन्तरता, आन्तरिक लोकतन्त्र र संस्थागत सुधारलाई जोड दिँदै ‘रिफर्म’ को नाममा नेतृत्व परिवर्तन वा बाह्य नेतृत्व आयातको प्रयास अस्वीकार्य हुने स्पष्ट सन्देश दिएको छ।
























