काठमाडौं । विभिन्न वामपन्थी दल र समूहहरूको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा औपचारिक रूपमा दल दर्ताको निवेदन दिएको छ ।
साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत करिब १० वटा वाम दल र समूहहरूको एकताबाट नयाँ पार्टी गठन गरिएको हो। पार्टी गठनको घोषणा भएको भोलिपल्ट, बिहीबार आयोगमा निवेदन दर्ता गरिएको हो ।
नवगठित पार्टीले आगामी निर्वाचनका लागि आफ्नो चुनाव चिन्ह ‘पाँचकुने तारा’ प्रस्ताव गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन आयोगले प्राप्त गरिसकेको छ । उनले स्मरण गराउँदै भने, “आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागी हुन चाहने दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्नेछ ।”
पार्टीका नेता शिव खकुरेलका अनुसार एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित निवेदन पेश गरिएको हो । उनले थपे, “पार्टीको विधानलाई पूर्णता दिने काम भइरहेको छ। पदाधिकारी टुंगिएपछि विधानसहितका आवश्यक कागजात आयोगमा बुझाइनेछ ।”
























