काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको सुधार र पुनर्गठनका यात्रामा युवाहरूको साथ र सक्रियता आवश्यक भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत जारी साढे १४ मिनेट लामो भिडियो सन्देशमा उनले कांग्रेसको आसन्न अधिवेशनबारे हुने बहसमा सबै कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आग्रह गर्दै, पार्टीभित्र र बाहिरका युवाहरूसमेतलाई सुधारको अभियानमा जोडिन आह्वान गरेका हुन्।
उनका अनुसार देशप्रतिको जिम्मेवारीबोध, वर्तमान अवस्थाप्रतिको चिन्ता र त्यसबारेको गहिरो सोचकै कारण अहिले भइरहेको केन्द्रीय समिति बैठकमा अधिवेशनको विषय उठाइएको हो।
थापाले भने, “कांग्रेसको अधिवेशनका बहसमा सबै साथीहरूको सक्रिय सहभागिता अपरिहार्य छ। कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभएका युवाहरूको समर्थनले पनि सुधारको यात्रामा नयाँ ऊर्जा र बल प्रदान गर्नेछ।”
उनले विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै पार्टीभित्रको भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन विरुद्धको लडाइँमा हातेमालो गर्न आग्रह गरे।
भदौ २३ र २४ गते देशभर भ्रष्टाचार र असक्षमता विरुद्ध जनताले पोखेको असन्तुष्टिबाट कांग्रेस पनि अछुतो नभएको उल्लेख गर्दै थापाले ती आन्दोलनहरू पहिलोपटक कांग्रेसमाथि पनि लक्षित भएको बताएका छन्।
“भदौ २३ गतेसम्म कांग्रेस संसद्को पहिलो दल थियो, हामी सत्ता पक्ष थियौं। आज न सत्ता पक्षमा छौं, न प्रतिपक्षमा, सडकमा आइपुगेका छौं,” उनले भने, “हाम्रो प्रासंगिकतामाथि प्रश्न उठेको छ। हामी निष्ठाभन्दा भ्रष्टाचारसँग, आदर्शभन्दा अवसरवादसँग जोडिएका छौं भन्ने धारणा बनेको छ। अब हामीले कहाँ गल्ती गर्यौं, के गर्न छुट्यौं, र के गर्न बाँकी छ भन्ने कुरा आत्मसमिक्षा गर्नैपर्छ।”

























