काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले वाम दलहरूको एकताको घोषणासँगै नेकपा (एकीकृत समाजवादी)को अस्तित्व नै समाप्त भएको बताइन् ।
झाँक्रीले भनिन्, “हामीले सुरुमा धेरै चुनौतीपूर्ण यात्रा हुनेछ भन्ने विश्वासका साथ अभियान सुरु गरेका थियौँ । त्यो अभियान अहिले एउटा निष्कर्षमा पुगेको छ । हाम्रो अध्याय यहाँ समाप्त भएको छ, पार्टी विघटन भइसकेको छ ।”
माधवकुमार नेपाललाई निर्वाचन आयोगसम्म पुर्याएको दृश्यलाई लिएर आफूलाई पार्टी विभाजनको मुख्य जिम्मेवार ठहर्याइएको उल्लेख गर्दै उनले त्यो दृश्यलाई “एउटा बिम्ब” मात्र भएको बताइन् ।
“त्यो फोटोका कारण मलाई विभाजनको प्रमुख पात्रको रूपमा चित्रण गरियो, तर म प्रमुख थिँए कि थिइनँ, त्यो इतिहासले मूल्यांकन गर्नेछ,” उनले स्पष्ट पारिन् ।
वाम दलबीच (माओवादी केन्द्र र एकीकृत समाजवादीसहित) आज भएको एकता घोषणाबाट अलग रहेकी झाँक्रीले आफूहरू अब नयाँ बाटो खोज्ने तयारीमा रहेको बताइन् ।
“एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो बन्द भएपछि हामी नयाँ मार्ग पहिल्याउने र नयाँ यात्रा सुरु गर्ने प्रयासमा छौँ,” झाँक्रीको भनाइ थियो ।
एमाले फुटाएर एकीकृत समाजवादी बनाउँदा बीचमै यात्रा टुंग्याउन नसकेको उल्लेख गर्दै उनले अहिले त्यो अध्याय समापन गर्न पाउँदा राहत महसुस भएको बताइन् । “आज हामीले त्यो यात्रा टुंग्याएका छौँ, र यो एउटा सन्तोषको क्षण हो,” उनले भनिन् ।
संविधान र लोकतन्त्रमा संकट आएको बेला समाजवादी पार्टी बनाइएको भए पनि पार्टीले अपेक्षाअनुसार काम गर्न नसकेको र चुनावमा पनि सफल हुन नसकेको झाँक्रीको मूल्यांकन छ । उनले धेरै पहिले नै यात्रा अवरुद्ध भएको थाहा पाएको भए पनि विभिन्न प्रतिबद्धताका कारण निर्णय गर्न ढिलाइ भएको बताइन् ।
झाक्री, किसान श्रेष्ठलगायतले अब केही समय अभियान चलाएर धेरैलाई समेटेर एमालेमा फर्किने तयारी गरेका छन् ।

























