काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू निःसर्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा फर्किने घोषणा गरेका छन् ।
बबरमहलमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले आफू र आफ्नो समूह कुनै पद वा स्वार्थका लागि नभई सैद्धान्तिक रूपमा एमालेमा फर्किन लागेको स्पष्ट पारे।
पार्टी माओवादी केन्द्रसँग एकता गर्न लागेपछि रामकुमारी झाक्री, किसान श्रेष्ठ लगायत सयौ नेता आफ्नो पुरानै पार्टी अर्थात नेकपा एमालेमा फर्किन लागेका हुन ।
अध्यक्ष माधव नेपाललगायतका केही नेता माओवादीसँग मिसिए पनि आफूहरु बरु आफ्नो पुरानै पार्टीमा फर्किनु उचित ठानेको वताउँदै श्रेष्ठले भने ‘हामी अहिले एमालेसँग वार्ता र संवादको क्रममा छौँ, देशभरका नेता–कार्यकर्ता साथीहरूलाई पनि घर फर्किन आह्वान गर्दछौँ । यो कुरा पनि स्पष्ट होस्—हामी कुनै पदका लागि होइन, निःसर्त आफ्नै घर फर्किन लागेका हौँ। हामीलाई सम्मानपूर्वक स्वीकार गरे पुग्छ भन्ने भावनाले एमालेसँग कुराकानी गर्दैछौँ ।’
चार वर्षअघि जानेर/नजानेर एमालेबाट अलग भएको स्मरण गर्दै श्रेष्ठले थपे, ‘हामीलाई मुलघरमा केही चाहिएको छैन । हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ भन्ने मनसायले वार्ता र संवाद गर्छौं । हामीलाई निशर्त फर्किनका लागि एमालेले वातावरण बनाइदेओस् ।’

























