काठमाडौँ । दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परेर घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । सो दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने चार जना विदेशी नागरिक अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी ज्ञानकुमार महतोका अनुसार दोलखाको रोल्वालिङ क्षेत्रअन्तर्गत यलुङ रि हिमालको बेसक्याम्प नजिक आइतबार हिमपहिरो गएको थियो । प्रारम्भिक जानकारीअनुसार आठ जना बेपत्ता भएको भनिए पनि हालसम्म चार जना विदेशी आरोही मात्र बेपत्ता रहेको पुष्टि भएको उनले बताएका छन् ।
डीएसपी महतोका अनुसार घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार कार्य गरिरहेको छ । ‘घाइते चार जनालाई हेलिकप्टरमार्फत उपचारका लागि आज बिहान काठमाडौँ पठाइएको छ,’ उनले जानकारी दिए, ‘तीन जनाको शव भने अझै घटनास्थलमै छन् ।’
प्रहरी र सेनाको उद्धार टोली हिजै घटनास्थलतर्फ पुगे पनि प्रतिकूल मौसमका कारण उद्धार कार्य आज बिहानबाट मात्र सुरु भएको हो ।
डीएसपी महतोका अनुसार हिमपहिरो गएको बेला सात जना नेपाली र सात जना विदेशी गरी कुल १४ जना त्यहाँ पुगेका थिए । हिमपहिरोमा परेका चार घाइते बेसक्याम्पसम्म आइपुगेपछि मात्रै अन्य आरोहीहरू पनि पहिरोमा परेको कुरा खुल्न आएको हो । मृतक र घाइतेहरूको पहिचान भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

























