काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्र, एकीकृत समाजवादी तथा साना दलबीच हुन लागेको एकतालाई ‘एजेन्डा र उद्देश्यविहीन’ बताएका छन्।
प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पोखरेलले विचार, सिद्धान्त र लक्ष्य स्पष्ट नभएको एकता दीर्घकालीन रूपमा टिक्न नसक्ने बताए। उनले भने, “विचारमा एकरूपता हुन्छ भने अलग बस्नुपर्ने आवश्यकता छैन, तर विचारमा फरक रहँदा जबरजस्ती एकता गर्नु आन्दोलनलाई समाप्त पार्ने हो। के हुन्छ भन्ने भविष्यले देखाउँछ।”
‘घर फर्किन अनुमति चाहिँदैन’
महासचिव पोखरेलले विगतमा एमाले छाडेर गएका कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन कुनै अनुमति लिन नपर्ने स्पष्ट पारे।
उनका शब्दमा, “घर फर्किनका लागि अनुमति लिनु पर्दैन। आउनुस् — तपाईंहरूको योग्यता र क्षमताका आधारमा पार्टीले जिम्मेवारी दिन्छ। तर सर्त एउटै छ, नीति र नेतृत्वमा सहमत भएर आउनुपर्छ।”
पोखरेलले पार्टीभित्र पुनः प्रवेश गर्नेहरूलाई विचार, नीति र नेतृत्वप्रति सहमति आवश्यक भएको बताए। “फेरि विवाद र असहमति बोकेर आउने कुरा स्वीकार्य हुँदैन,” उनले भने, “नीति र नेतृत्वमा सहमत हुने जो कोहीलाई एमालेले स्वागत गर्न तयार छ।”
मंसिरमा इतिहासकै ठूलो जनसभा गर्ने तयारी
महासचिव पोखरेलले मंसिर २७ देखि २९ गतेसम्म हुने ११औँ महाधिवेशनअघिको जनसङ्गठन कार्यक्रमअन्तर्गत मंसिर २९ गते काठमाडौंमा इतिहासकै ठूलो जनसभा गर्ने घोषणा गरे।
उनले जनताको साथ कससँग छ भन्ने स्पष्ट पार्न पार्टीले देशव्यापी जनभेला आयोजना गर्न लागेको बताए। “२२ गते देशभर सबै वडामा वडास्तरका सभा गर्नेछौँ, २५ गते पालिकास्तरमा, २९ गते जिल्लास्तरमा र मंसिर ६ गते उपत्यकास्तरमा सभा हुनेछ,” उनले भने, “महाधिवेशनअघिको मंसिर २९ गतेको जनसभाले जनताको साथ एमालेसँगै रहेको सन्देश दिनेछ।”
पोखरेलका अनुसार, यी कार्यक्रमहरूले एमालेभित्र संगठनात्मक एकता सुदृढ गर्ने र जनआकर्षण पुनर्स्थापित गर्ने लक्ष्य लिएका छन्।
























