काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद चर्किँदै गएपछि संस्थापन पक्षका नेताहरूले बेग्लै बैठक गरेका छन्। उनीहरू नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा भेला भएर आन्तरिक र राजनीतिक विषयमा छलफल गर्दै छन्।
केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार देशको वर्तमान राजनीतिक परिस्थितिसँगै पार्टीभित्रको आन्तरिक गतिविधि र महाधिवेशनको तयारीबारे विस्तृत छलफल भइरहेको छ। उनले भने, “केन्द्रीय समिति बैठक बारम्बार स्थगित हुँदै आएको छ। देश जटिल अवस्थाबाट गुज्रिरहेको छ, त्यसैले हामीले सामूहिक धारणा बनाउन छलफल गर्दैछौं।”
भण्डारीका अनुसार भेलामा करिब ४५ भन्दा बढी केन्द्रीय सदस्यहरू सहभागी छन्।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा मतभेद कायम रहेकाले कांग्रेसको केन्द्रीय समिति बैठक बस्न नसकेको हो। अब उक्त बैठक भोलि दिउँसो १ बजेका लागि पुनः बोलाइएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन समूह भने फागुन २१ मा हुने निर्वाचनपछि वैशाखमा मात्र महाधिवेशन गर्ने पक्षमा अडिएको छ।
























