काठमाडौं । एनआईसी एशिया बैंकले सुजित कुमार शाक्यलाई आफ्नो प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ।
बैंकको ७३६औं सञ्चालक समितिको सोमबार बसेको बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चालक समितिले उनलाई आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको जनाएको छ।
शाक्य हाल नबिल बैंकका वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) हुन्। उनी नबिल बैंकमा डेपुटी सीईओ तथा कार्यवाहक सीईओ (कामु सीईओ)को जिम्मेवारी समेत सम्हालिसकेका थिए।
एनआईसी एशिया बैंकका पूर्वकर्मचारी समेत रहेका शाक्य पछिल्लो समय नबिल बैंकमा कार्यरत थिए। नबिल बैंकका तत्कालीन सीईओ अनिल कुमार शाहको प्रस्थानपछि उनलाई कार्यवाहक सीईओको जिम्मेवारी दिइएको थियो। त्यसपछि ज्ञानेन्द्र ढुंगाना सीईओ नियुक्त भएपछि शाक्य डेपुटी सीईओको भूमिकामा रहे। ढुंगाना बैंकबाट बाहिरिएपछि मनोज कुमार ज्ञवाली सीईओ बनेका थिए भने शाक्य सिनियर डेपुटी सीईओका रूपमा कार्यरत थिए।
























