काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शनिबार मध्यराति सामाजिक सञ्जालमा लेखेर २० मिनेटमै एउटा स्टाटसको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र माओवादीलाई गाली गर्दै अंग्रेजीमा लेखेको त्यस स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेपछि सर्वत्र चर्को आलोचना भएको छ । जवकि उनकै समर्थकहरुले समेत आलोचना गरेका छन् ।
शनिबार राति ११ बजेर ५६ मिनेटमा पोष्ट गरिएको त्यो स्टाटस उनले केही बेरपछि नै हटाएका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले स्क्रिनसट राखेर व्यापक टिप्पणी गरिरहेका छन् ।
स्टाटसमा अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, रास्वपा, राप्रपालाई अश्लील गाली गर्दै ‘सबै मिले पनि केही गर्न सक्दैनन्’ भनेका छन् ।
शनिबार ललितपुरस्थित बखुण्डोलमा रहेको ‘संस्कार फाईन डाईन एण्ड इभेन्ट’ रेष्टुरेन्टमा दिउँसो २ बजेदेखि मदिरा पिएर बसेको पाइएको छ । चार/पाँच जना मध्येमा एक नायिकाका श्रीमान समेत रहेको पत्रकार मञ्जु कार्कीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
कार्कीले आज विहान लेखेकी छिन् “हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिए, मलाई बस्न मन पर्ने ठाउ (कौशी) जस्तोमा चार पाँच जना साथीसंग बालेन थिए । हामी भित्र बस्यौ, तर हामी बसिरहेको ठाउबाट उनलाई देख्न सकिन्थ्यो । उनले बारम्बार मदिरा थपिरहेका थिए । मलाई लाग्यो शनिबार छुट्टीको दिन भएर होला । मैले त्यता धेरै ध्यान दिईन तर राति बालेनको यस्तो पोष्ट देखेपछि मेरो दिउसोको अनुमानभन्दा अवस्था झन जटिल बनेछ !”

कार्कीले फेसवुकमा यो पोष्ट गरेपछि बालेनका समर्थकहरुले उनलाई गाली गरेका छन् । मेयर बालेनको लोकप्रियता देखेर विरोधीहरुले झुटो प्रचार गरेको भन्दै गालीगलौज गरेपछि पत्रकार कार्कीले सोही रेष्टुरेन्टमा आफू गएको पोष्ट, आफ्नो र वालेनको गाडीको तस्बिर राख्दै थप प्रष्ट पार्दै अर्को पोष्टमा लेखेकी छिन् “मलाई गाली गर्नु भन्दा ललितपुरको Saskar Fine Dine & Events मा गएर पत्ता लगाउनुहोस् ! मैले देखेको लेखे, मेरो गाडीमाथि मेरो छोरी हुन, छेउको गाडी पत्ता लगाउनुहोस । म कसैको विरोधी र समर्थक होईन । भिडियो र फोटो हेर्न ईच्छुकले सिसिटिभी हेर्नुहोस ! #balenshahnews #Balenshah कुरा भूराजनीतिको छ, त्यसैले लेखेको । अन्यथा रक्सी भाङका कुरा मलाई मतलव भएन । ईच्छा हुनेले खाने हो । @highlight शाहसंग सायद एउटा नायिकाका श्रीमान् पनि थिए ।”

त्यस्तै पत्रकार प्रकाश तिम्सिनाले पनि कार्कीले जस्तै बालेन सो रेष्टुरेटमा दिउँसो देखि नै रहेको दावी गरेका छन् । उनले लेखेका छन् – “गाँजा खाएर लेखेको होईन हौं, झुटो आरोप नलगाउँ ! खासमा अमेरिका, चाईना र भारतसहित नेपालका राजनीतिक दललाई फ… लेखेर मध्यरातमा ‘रक्स’ गर्नु अघि पुल्चोक क्याम्पस अगाडी बखुण्डोलमा रहेको ‘संस्कार फाईन डाईन’ रेष्टुरेन्टको कौशीमा बसेर ‘सोल्टी’ ४÷५ जना साथीसँग मिलेर दिऊँसै २ बजे देखि झ्याप हुन सुरू गरेका रहेछन् । गाजा होईन, हुक्का खाएको हो । झुटो आरोप नलगाऊँ !! दिउँसै २ बजे देखि १२ बजेसम्मको ‘अथक मेहनत’ गरे पछि सोल्टीलाई मध्यरातमा अचानक देशभक्त, राष्ट्रबाद जागेर आएको बुझियो । तर, मेरो गुनासो यो छ कि जे–जे भएपनि राष्ट्रबाद जगाउनका लागि काठमाडौंको मेयर भए पछि बागमती नै तरेर ललितपुर जानु चाँही हुन्न थियो। धेरै पहिला ‘सिंहदरवार जलाउने’ साँझमा झै ‘लन्डन पब दरबारमार्ग’ काठमाडौैमा नै बसेर देशभक्ति र राष्ट्रबाद जगाएको भएँ, के बिग्रन्थ्यो ? अब चाँही छिमेकीहरूको नगरपालिकामा गएर होईन, आफ्नै महानगरपालिका बसेर जगाउनु परयो– यस्तो देशभक्त र राष्ट्रबाद !!!”

वालेनका समर्थक कमेडियन हिमेश पन्तले पनि उनलाई संयम र सभ्य हुन सुझाव दिएका छन् । अब नयाँ पुस्ताले त्यो गल्ती दोहोर्याउनु हुँदैन भन्दै उनले ‘हाम्रो लडाइँ status लेखेर होइन, system बदल्नका लागि हो ।’ भनेका छन् ।
बालेनको हावा status सायद गलत सोचबाट होइन, गलत तरिकाबाट आएको शब्द थियो भन्दै पन्तले ‘अहिले देशलाई चाहिएको नेता बोल्ने होइन, बुझ्ने र बुझाउने हो । नेतृत्वको शक्ति शब्दमा होइन, आत्मसंयम र दृष्टिमा हुन्छ।’

त्यस्तै गायिका तथा मोडल ज्योति मगरले पनि वालेन साहको स्टाटर्सप्रति टिप्पणी गर्दै चर्को आलोचना गरेकी छिन् । गीतसंगीत क्षेत्रमा रमाउने र त्यसकै बारेमा बोल्ने, लेख्ने गर्दै आएकी चर्चित गायिका मगरले पछिल्लो समय राजनीतिमा समेत निकै चासो राख्दै टिप्पणी गर्न थालेकी छिन् । उनका टिप्पणीले उनमा राजनीतिक विश्लेषण गर्न सक्ने चेत देखिन्छ ।
उनले लेखेकी छिन् “गरिबको चमेली बोल्दिने कोइ छैन भन्दै गरिबहरुको ठेला उठाउनु भो, म नेपाल हासेको हेर्न चाहन्छु भन्दै जेन्जी उक्साएर सर्लक्कै देश जलाउनु भो … जुन जुन शक्तिको आडमा फिल्मी स्टाइलमा बितन्ढा मच्चाउनु भो त्यही शक्तीहरुले थेचार्न थाले पछिको असन्तुष्टि छर्लङ्ग… रात को १२ बजे मुख छोड्दा हुने फाइदा
1) भडास डिटक्स
2)कुनै शक्ति बाट परिचालित छैन भन्ने प्रमाण
3) सुठ्ठा को क्वालिटी पर्फेक्ट भयको प्रमाण
खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो….
धन्न सु सु गर्न उठेको भाउजूले आधा घण्टा मै थाहा पायर डिलेट गर्न लाउनु भो नत्र कति धेरै भिउज, लाइक, कमेन्टहरु आउथ्यो …
हजुरको स्टाटस डिलेट भय पछि हजुरलाई यो गित को हरफहरु गिफ्ट
भक्तहरुको चमेली बोल्दिने कोइ छैन….
म भक्तजन हासेको हेर्न चाहन्छु….”

मेयर साहका अश्लील, गालीगलौज गरेका, समर्थकलाई उत्तेजित बनाउने, राजनीतिक दलप्रति घृणा फैल्याउने, भूराजनीतिमा असर पार्ने स्टाटस यो मात्र पहिलो होइन, यस्ता स्टाटस धेरै आइसकेका छन् ।
समाज र सञ्चारमाध्यमबाट टाढा बस्ने मेयर साह फेसवुकमा मात्र देखिन्छन् ।
हालैको जेनजी आन्दोलनको मुख्य योजनाकार मध्येको आरोप लागेका बालेन आन्दोलनका घाइते भेट्न नगएको, जेनजीको नेतृत्व गरिदिन आग्रह गर्दा नमानेको, मृतकको दाहसंस्कारमा नगएको, मृतकका आफन्तलाई सान्त्वना दिन समेत नगएको भन्दै जेनजी, घाइते, मृतकका परिवारहरु नै उनीप्रति आक्रोशित भएका छन् । जेनजी आन्दोलनपछि उनका समर्थकहरु समेत घट्दै गएका छन् ।

























