काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको जारी केन्द्रीय समिति बैठकले ऐतिहासिक र निर्णायक निर्णय गर्ने बताएका छन् ।
तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सभापति शेरबहादुर देउवाको सम्बोधनले पार्टीभित्र नयाँ सन्देश र ऊर्जा भरिएको बताएका हुन् ।
खड्काले भने, “कांग्रेसले आन्तरिक समस्या र मतभेदलाई मिलाउँदै एकताबद्ध रूपमा अघि बढ्नेछ। नेपाली जनताले फेरि पनि कांग्रेसप्रति आशा र भरोसा राखेका छन् । हामीबाट कमीकमजोरी हुनसक्छ, त्यसलाई स्वीकार गरेर सुधारतर्फ लाग्नेछौं ।”
उनले संविधान र राष्ट्रिय सार्वभौमसत्ताको संरक्षणका लागि पार्टी एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले केन्द्रीय समिति बैठकबाट नियमित महाधिवेशन सम्बन्धी निर्णय हुने पनि स्पष्ट पारे ।
























