काठमाडाैं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आवश्यक तथा विश्वसनीय वातावरण तयार पार्न सकेमा कांग्रेस निर्वाचनमा सहभागी हुने स्पष्ट पारेका छन्।
सुर्खेतमा आज आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै उनले भने, “चुनावका लागि आवश्यक वातावरण बनेमा हाम्रो पार्टी भाग लिन पूर्णतः तयार छ। तर अहिलेसम्म सरकारले त्यस दिशामा गम्भीर र भरोसायोग्य कदम चालेको देखिँदैन।”
पूर्व पार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा खड्काले पछिल्लो समय सरकारको भूमिका चुनावी वातावरण बनाउनेभन्दा पनि राजनीतिक प्रतिशोध र भ्रम सिर्जनामा केन्द्रित देखिएको टिप्पणी गरे।
खड्काले हालैको जेन–जेड आन्दोलनको पृष्ठभूमि उल्लेख गर्दै त्यस क्रममा लुटिएका हतियारहरू फिर्ता गराउने, सुरक्षा निकायको मनोबल उच्च बनाउने र आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनका अनुसार, यस्तो वातावरणले मात्रै निर्वाचनमा सहभागी हुने दलहरूको विश्वास जित्न सकिन्छ।
कार्यवाहक सभापति खड्काले सरकारले कांग्रेस नेताहरूलाई पूर्वाग्रही ढंगले लक्षित गर्दै लाञ्छना लगाउने, भ्रम फैलाउने र अन्योल सिर्जना गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए।
उनले भने, “हामी कानुनी प्रक्रिया अनुरूप हुने छानबिन र अनुसन्धानप्रति खुला छौँ। तर सरकारमा रहेका जिम्मेवार पदाधिकारीहरूबाट जुन किसिमको भ्रम र लाञ्छना सिर्जना भइरहेको छ, त्यो निन्दनीय छ। यसप्रति म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”
खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको जनाउँदै, उक्त बैठकले निर्वाचन, पार्टीको अधिवेशन र समसामयिक परिस्थितिबारे उचित र जिम्मेवार निर्णय लिने बताए ।




















