काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले हालको केन्द्रीय कार्यसमितिको म्याद जबरजस्ती थप्न खोजिएको आरोप लगाएका छन् ।
नेता गुरु घिमिरे, मनोजमणि आचार्यलगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले नियमित समयमा महाधिवेशन नगरी केन्द्रीय समितिको अवधि लम्ब्याउन खोजिरहेको दाबी गरे।
पत्रकार सम्मेलनमा बोल्दै नेता आचार्यले असोज २८ बाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अनावश्यक रूपमा लम्ब्याइएको र आगामी बैठक छठपछिसम्म सारिएकोप्रति आपत्ति जनाए। उनका अनुसार बैठक कहिले सकिने भन्ने अत्तोपत्तो छैन, जसले नेतृत्वको नियतमै प्रश्न उठाएको छ।
“समयमै महाधिवेशन नगर्ने, बैठक लम्ब्याउने, र म्याद थप्न अग्रसर हुने वर्तमान कार्यसमितिको मनसाय स्पष्ट रूपमा देखिन्छ,” उनले भने, “यस्तो प्रवृत्ति अत्यन्त आपत्तिजनक छ।”
उनले पार्टी नेतृत्वलाई चेतावनी दिँदै भने कि राष्ट्रिय राजनीति तीव्र गतिमा अघि बढिरहेको वर्तमान अवस्थामा पार्टी नेतृत्व परिवर्तनमा ढिलाइ गर्नु अनुचित छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने आवश्यकता रहेको उनले जोड दिए।
“यही राष्ट्रिय आवश्यकता बुझेको आधारमा विशेष महाधिवेशनको माग गरिएको हो,” आचार्यले स्पष्ट पारे, “यसभन्दा उपयुक्त विकल्प हामीसँग छैन। त्यसैले यो मागप्रति पार्टी गम्भीर भई आवश्यक कार्यान्वयनमा अग्रसर हुनुपर्छ भन्ने कुरा पुनः स्मरण गराउन चाहन्छौं।”

























