काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले म्याद समाप्त भइसकेका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई वैध ठहर गर्न नसकिने बताएका छन् ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बलायरले पार्टीको नियमित महाधिवेशन गराउन कसैले रोक नलगाएको स्पष्ट पारे। उनले भने, “यदि महामन्त्रीहरूले मंसिरमा महाधिवेशन गर्ने भनेका हुन् भने, गराउन उनीहरू स्वतन्त्र छन्। तर म्याद सकिएका प्रतिनिधिका हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनको माग गर्नु प्रक्रियागत रूपमा अस्वीकृत छ।”
उनले पार्टी सभापति शेरबहादुर देउवामाथि अघिल्लो दिनसम्म कठोर आलोचना गर्नेहरू नै अहिले देउवाले कार्यवाहक सभापति तोकेपछि प्रशंसामा रमाउन थालेको टिप्पणी गरे।
“अस्तिसम्म देउवालाई हेपाह प्रवृत्तिले हेर्नेहरू अहिले उनको गुणगानमा लागेका छन्,” बलायरले भने, “मन्त्री भएर सरकारको संयन्त्रमा बसेका व्यक्तिहरूले समेत देउवामाथि दोष थोपार्नु हास्यास्पद छ। के सबैको दोषको भारी सभापतिले मात्र बोक्नुपर्छ?”
विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै उनले राजनीतिक जिम्मेवारी लिने स्थानमा रहेका व्यक्तिहरूले यस्ता माग गर्नु पार्टी अनुशासन र प्रक्रिया विपरीत भएको जिकिर गरे।

























