काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी फुटाएर नयाँ दल दर्ता गरिएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
राउतबाट अख्तियारी प्राप्त सत्यनारायण खत्वेले निर्वाचन आयोगसहितलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन्। उक्त मुद्दामा आगामी शुक्रबारका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिष्टार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
जनमत पार्टीका तत्कालीन उपाध्यक्ष दीपक साहले केन्द्रीय समिति सदस्यहरूमध्ये २६ प्रतिशत अर्थात १४ जना पदाधिकारी र सदस्यसहित छुट्टिएर जनस्वराज पार्टी नामक नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएका थिए। आयोगले उक्त दललाई दल दर्ताको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ।


















