काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (बिहीबार) कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्दैछ । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग गरी खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बस्न लागेको यो पहिलो बैठक हो ।
यसअघि मङ्गलबार देउवाको अध्यक्षतामा सुरु गरिएको केन्द्रीय समिति बैठकलाई आजदेखि निरन्तरता दिइँदैछ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने बताइएको छ ।
खड्काले कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी सम्हालेपछि बुधबारका लागि तय बैठक स्थगन गरिएको थियो । आजबाट फेरि बैठक निरन्तरता पाउन लागेको हो ।
यता, बुधबार कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निकट नेताहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन् ।
यसबीच, जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमै आक्रमणमा परेका शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा ३६ दिनपछि असोज २८ गते मात्र सार्वजनिक भएका थिए । सोही दिन पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भई देउवाले लिखित मन्तव्यमार्फत कार्यकारी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका थिए र उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मा दिएका थिए ।

























