काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका प्रयासहरूका बावजुद षड्यन्त्रकारी शक्तिहरू मुखर भएर भदौ २३ र २४ को घटना भएको बताएका छन् ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले भने, “अघिल्लो बैठकमा देखिएका समस्या र प्रवृत्तिहरूलाई समयमा समाधान गर्न नसक्दा त्यो घटनाले पार्टी र देश दुवैलाई क्षति पुर्यायो ।”
महासचिव पोखरेलले पार्टीप्रति युवा र भूमिहीन सुकुम्बासी समुदायमा आकर्षण घटिरहेको निष्कर्ष पनि अघिल्लो बैठकमा नै निकालिएको स्मरण गराए ।
जारी केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्तावको मस्यौदा तयार गर्नको लागि उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा कमिटी गठन गरेको महासचिव पोखरेलले बताए ।
कमिटीमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र महेश बर्लौला सदस्य छन् । तीनदिनसम्म चल्ने एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ। बैठकलाई अहिले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् ।
























