काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको वर्तमान अस्थिर परिस्थितिमा लोकतान्त्रिक मूल्य र संविधान नै संकटमा परेको बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै अन्य लोकतान्त्रिक राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक रहेको धारणा राखे।
देउवाले जननिर्वाचित संविधानसभा मार्फत निर्माण गरिएको संविधान आज गम्भीर जोखिममा परेको उल्लेख गरे। “प्रतिनिधिसभा असंवैधानिक र अलोकतान्त्रिक ढंगले विघटन गरिएको छ,” उनले भने, “फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिए पनि त्यसका लागि आवश्यक वातावरण बन्न सकेको छैन।”
उनका अनुसार स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि शान्ति-सुरक्षाको भरपर्दो अवस्था अपरिहार्य भए पनि हाल सुरक्षा निकायको मनोबल कमजोर देखिएको छ।
“सुरक्षाकर्मीहरू निरीह बनेका छन्,” देउवाले भने, “शान्तिपूर्ण र निष्पक्ष निर्वाचनका लागि वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारकै हो, त्यसमा गम्भीरता देखाउनुपर्छ।”
उनले देशलाई फेरि संवैधानिक बाटोमा फर्काउन निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरे।
























