काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने पक्षमा गम्भीर नदेखिँएको टिप्पणी गरेका छन् ।
मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष यादवले फागुन २१ गते तोकिएको निर्वाचनको सम्भावनाप्रति शंका व्यक्त गर्दै सरकार चुनावप्रति निष्क्रिय रहेको आरोप लगाए । छ महिनाको समय दिएर बनाइएको सरकारले एक महिना बितिसक्दा पनि कुनै काम नगरेको भन्दै यादवले भने, “अहिलेसम्म निर्वाचनबारे राजनीतिक दलहरूसँग कुनै छलफल भएको छैन । दलहरू सहभागी नभए चुनाव सम्भव हुँदैन ।”
उनले वर्तमान वातावरण निर्वाचनका लागि अनुकूल नरहेको उल्लेख गर्दै यस्तो अवस्थामा गरिने चुनाव पूर्वराजा ज्ञानेन्द्रको चुनावभन्दा ठूलो नहुने चेतावनी पनि दिएका छन् ।
त्यसैगरी, यादवले संघीयता खारेज गर्न खोज्ने षड्यन्त्रहरूप्रति पनि सचेत गराउँदै त्यसविरुद्ध दृढ प्रतिकार गर्ने प्रतिबद्धता जनाए । “संघीय गणतन्त्रात्मक व्यवस्थालाई जोगाउनु र सुदृढ गर्नु हाम्रो कर्तव्य हो,” उनले भने ।
३५–३६ वर्षदेखि काङ्ग्रेस र कम्युनिष्टहरूले शासन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु नै आजको असन्तोषको कारण बनेको आरोप लगाएका छन् ।
























