काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सहमति अभावका कारण स्थगित गरिएको छ। महाधिवेशनको विषयमा पार्टीभित्र विवाद कायमै रहेकाले आजका लागि बोलाइएको बैठक भोलिसम्मका लागि सारिएको हो।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक भोलि बिहान ११ बजे बस्नेछ। त्यस्तै, केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे सुरु हुने बताइएको छ।
उनले भने, “आज ३ बजे बैठक बस्ने भनिएको थियो, तर तयारी अपुग भएका कारण भोलि सारिएको हो।”
यसअघि आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि स्थगित गरिएको थियो। अहिले पार्टीभित्र नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विषयमा गहिरो मतभेद देखिएको छ।
इतर समूह मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएको छ भने संस्थापन पक्षले हालको परिस्थितिमा मंसिरमा कुनै पनि प्रकारको महाधिवेशन सम्भव नरहेको अडान लिएको छ। यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर सङ्कलनसमेत गरिरहेका छन्।
फागुन २१ गते निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने नेविसंघको माग
यसैबीच, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणामाथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ।
जेन–जेड आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले देउवा दम्पतीमाथि सुनियोजित हमला भएको आरोप लगाउँदै त्यसमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरे।
उनले भने, “अब जेन–जेड आन्दोलनले उठाएका मागहरूलाई संस्थागत रूपमा अघि बढाइनेछ।” साथै, उनले राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने मागसमेत राखे।
साथै, आगामी फागुन २१ गते निर्वाचन तोकिएको सन्दर्भमा त्यसअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने माग समेत नेविसंघले अघि सारेको छ।
























