काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ अभियानका संयोजक सुधन गुरुङमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
‘जेन जेड’ आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेर्पाले बालेनले अतीतमा सिंहदरबार जलाउने धम्की दिएको स्मरण गर्दै यस्तो व्यक्तिले आन्दोलनको आह्वान गर्नु खतरनाक रहेको बताए ।
उनले भने, “सिंहदरबार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलन गरिरहेको छ । अब यस्ता व्यक्तिलाई छानबिनको दायरामा ल्याउने कि नल्याउने भन्ने गम्भीर विषय हो । सुधन गुरुङले समेत खुला रूपमा राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन् । यदि प्रहरी प्रशासनले अझै पनि यो अराजकतालाई नियन्त्रण गर्न सकेन भने त्यसको जिम्मेवारी नेविसंघ आफैंले लिन्छ ।”
शेर्पाले २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । उनका अनुसार पार्टीभित्र वडादेखि केन्द्रसम्मका नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने बेला आएको छ ।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने शेर्पाले माग गरे। उनले विद्यार्थीमाथि दमन गर्ने र गोली चलाउने आदेश दिने जिम्मेवारहरूलाई कारबाही गर्न जोड दिए ।
उनले चेतावनी दिँदै भने, “यदि अराजक गतिविधि नियन्त्रणमा ल्याइएन भने, नेविसंघ सडक संघर्षमा उत्रिन बाध्य हुनेछ ।”
अध्यक्ष शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।
उनले जेन-जीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताए । राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग अघि सारेको छ।
फागुन २१ गते निर्वाचन तोकिएकाले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्न पनि माग गरेको छ।
























