काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले अहिलेको राजनीतिक परिस्थितिमा उत्तेजना, आग्रह, पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर जिम्मेवारीपूर्वक काम गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।
जेनजी आन्दोलन सुरु भएको पहिलो दिनमै गृहमन्त्री पदबाट राजीनामा दिएका लेखकले उक्त आन्दोलनले उठाएको विषयवस्तुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
“जेनजी पुस्ताले उठाएका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य–मान्यताको सन्दर्भमा समेट्दै अघि बढ्नु आवश्यक छ,” उनले भने, “अहिलेको समय उत्तेजना, आग्रह–पूर्वाग्रह र प्रतिशोधभन्दा माथि उठेर देशमा विधिको शासन कायम गर्ने दिशामा सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्छ ।”

























