काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । जेनजी आन्दोलनको बलमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीलय बैठक बोलाएका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
बैठकको लागि प्रधानमन्त्री कार्की, मन्त्रीसहित विभिन्न राजनीतिक दलका नेतालाई बोलाइएको बताइएको छ । राष्ट्रपति पौडेलले बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुलाई बोलाएर निर्वाचनको तयारी बारे जानकारी लिएका थिए ।
आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिए पनि सरकारले अझै त्यसको तयारी र दलहरुसँग संवाद – सहमति शुरु नगरेको अवस्थामा राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री कार्कीसहित प्रमुख दलका नेताहरूलाई छलफलमा बोलाएका हुन ।
निर्वाचन गराउने प्रयोजनका लागि गठित सरकारले निर्वाचनको तयारी भन्दा पनि प्रमुख दलका नेताहरुमाथि राजनीतिक प्रतिशोध साध्ने, धरपकड गर्ने तयारी गरिरहेको छ । तोकिएको मितिमा निर्वाचन गरेर देशमा शान्ति, स्थिरता कायम गर्नु पर्ने सरकारका प्रधानमन्त्री, मन्त्रीहरुका गतिविधिले देशलाई फेरि अस्थिरतामा धकेल्न र थप संकटमा उत्पन्न गराउने संकेतहरु देखिएका छन् ।

























