दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको पानीका कारण सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपराह्न ४ बजेतिर सडक भासिएको जानकारी दिए। दुवैतर्फ प्रहरी राखेर सुरक्षित रूपमा एकतर्फी सवारीसाधन आवतजावतको व्यवस्था मिलाएको उनले जानकारी दिए। तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उनले आग्रह गरे।
२०७९ जेठ २७ गते सोही ठाउँमा सडक भासिएपछि भित्ता काटेर मर्स्याङ्दी नदीतर्फबाट पर्खाल उठाइएको थियो। सोही ठाउँमा पुनः सडक भासिएको प्रहरीले जनाएको छ। (रासस)





















