अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–९, टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप सोमबार (असोज १३) बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार, सोही घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । (रासस)

























