काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पार्टीले संसद् पुनर्स्थापनाको माग उठाउनु नहुने बताएका छन्। राष्ट्रपतिले अफ्ठ्यारो राजनीतिक परिस्थितिमा नेतृत्वदायी भूमिका खेल्दै निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा कांग्रेसले चुनावतर्फ केन्द्रित हुनुपर्ने धारणा उनले व्यक्त गरे।
एक सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले पार्टीभित्र संसद् पुनर्स्थापनाको पक्षमा र प्रत्यक्ष निर्वाचनमा जानुपर्ने पक्षमा दुई धारणा रहेको स्वीकार गरे। तर, व्यक्तिगत रूपमा आफू निर्वाचनमै जानुपर्ने पक्षमा रहेको बताए।
उनले भने, “संसद् पुनर्स्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन्। चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक धारणा बनाउने नै छौँ। तर मेरो धारणा के भने, अब राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरिसक्नुभएको छ। सेनालाई विश्वासमा राखेर सरकार निर्माण गरेर चुनावमा जान दलहरूलाई आग्रह भइरहेको बेला पुनर्स्थापनाको माग गर्नु उपयुक्त हुँदैन।”
महामन्त्री शर्माले हालसालैको जेनजी आन्दोलनले उठाएका मुद्दाहरूप्रति आफू सहानुभूति र समर्थनमा रहेको स्पष्ट पारे। तर, आन्दोलनका अगुवा युवाहरूको प्रतिनिधित्व बिना सुशीला कार्की नेतृत्वको सरकार बनेकोप्रति उनले असन्तुष्टि जनाए।
उनले भनेका छन् “यो सरकारमा एउटा पनि जेनजीको प्रतिनिधि छैन। परिवर्तनको लागि लड्ने, बलिदान दिने, सरकार बनाउन पहल गर्ने जेनजीहरू थिए। १०१ राम्रा मन्त्री बनेका छन् । तर आन्दोलनमा सहभागीहरुको उपस्थिति सरकारमा छैन । यस्तो गम्भीर विषयलाई हामीले बेवास्ता गर्न मिल्दैन।’
























