काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ । बैठकको सुरूवात जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा मौनधारणबाट गरिएको थियो। बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक व्यवस्थापनमाथि व्यापक छलफल भइरहेको छ ।
पार्टी सभापति रवि लामिछानेको हालैको कारागार रिहाइ प्रकरणले पार्टीभित्र र बाहिर सवालहरू उठाइरहेका बेला चार वटा प्रदेश समितिका सभापतिहरूले रविले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्। रास्वपाको विधानअनुसार प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुन्छन् ।
मार्गप्रशस्त गर्न प्रस्ताव गर्ने प्रदेश सभापतिहरुमा कोशीका सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्ट छन् ।
उनीहरूले रवि लामिछानेले कानुनी प्रक्रिया पूरा नभएसम्म पार्टी नेतृत्वबाट टाढिनुपर्ने वा संरक्षणको भूमिकामा बस्नुपर्ने धारणा राखेका छन् । बाँकी तीन प्रदेशका सभापतिहरूको धारणा भने अहिलेसम्म स्पष्ट भएको छैन ।
नख्खु प्रकरणमा छानबिनको माग
रास्वपा प्रवक्ता मनिष झाले पनि नख्खु कारागार बाहिर भएको घटनाबारे छानबिन हुनुपर्ने माग गरेका छन्। उल्लेखनीय कुरा के छ भने मनिष स्वयं घटनास्थलमा देखिएको भिडियो सार्वजनिक भएपछि विवादमा परेका छन्। उनले बैठकअघि केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमै छानबिनको माग राखेका थिए।
स्रोतका अनुसार सभापति लामिछाने पनि छानबिनप्रति सकारात्मक छन्। तर, भदौ २४ गते घटनास्थलमा पुगेका केही नेताहरू भने छानबिनको विपक्षमा देखिएका छन्। घटनाले पार्टी र सभापतिको छविमा नकारात्मक असर परेकोमा भने अधिकांश नेताहरू सहमत छन्।
पार्टी पुनर्गठन र महाधिवेशनबारे पनि छलफल
बैठकमा पार्टी पुनर्गठनसम्बन्धी प्रस्ताव पनि उठ्दैछ। विशेषतः महाधिवेशनको मिति सार्ने वा तिहारपछि विस्तारित बैठक बोलाउने प्रस्ताव तयारी अवस्थामा छ।
रास्वपाले यसअघि फागुन ७, ८, ९ गते महाधिवेशन गर्ने घोषणा गरेको थियो। तर, फागुन २१ मा उपनिर्वाचन मिति तोकिएपछि महाधिवेशन सार्नुपर्ने अवस्था आएको हो। यसलाई लिएर मंसिरमा महाधिवेशन सार्ने वा वैकल्पिक रूपमा विस्तारित बैठकको माग भइरहेका छन्।
























