
काठमाडौं । जेनेजी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरू आइतबार सिंहदरवारको दक्षिण गेटमा धर्ना बसेपछि उनीहरूलाई भित्र प्रवेश गराइएको छ। प्रहरीको सहयोगमा उनीहरूलाई गृहमन्त्रालयसम्म पुर्याइएको भए पनि जेन्जीकै आन्दोलनका कारण गृहमन्त्री बन्न पाएका ओमप्रकाश अर्याल कार्यालयमा उपस्थित नरहेकाले उनीहरू हाल मन्त्रीको प्रतिक्षामा छन् ।
यसअघि घाइतेहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उद्देश्यले सिंहदरवार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि उनीहरूले गेटमै धर्ना दिएका थिए। आन्दोलनको बलमा प्रधानमन्त्री वा मन्त्री बनेका व्यक्तिहरूसँग आफ्नो माग राख्न खोज्दा पनि प्रवेश नपाएपछि उनीहरू विरोधस्वरूप गेट अगाडि नै बसेका थिए।
धर्नामा बसेका घाइतेहरू केही वैशाखीको सहारामा छन् भने केही अझै उपचाररत छन्। उनीहरूले अस्पतालका चिकित्सकहरूको रिपोर्टसहित सिंहदरवार पुगेका थिए। उनीहरूका अनुसार आफ्ना सरोकार सम्बोधन गराउन प्रवेश अनुमति नदिइएकोले बाध्य भएर धर्ना दिनु परेको हो।
गृहमन्त्री अर्याललाई भेटेर आफ्नो ज्ञापनपत्र बुझाउन पुगेका घाइतेहरू हामी नेपालका संयोजक सुदन गुरुङको नाम लिँदै आक्रोशित बनेका हुन् । उनीहरूले सुदनलाई जेनजी प्रदर्शनको लिडर भन्दै नहिँड्न चेतावनी दिएका छन् ।
घाइतेहरू आक्रोशित हुँदै जेनजी प्रदर्शनमा कोही पनि लिडर नभएको र आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

























