चितवन । करिब ३८ घण्टादेखि अबरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु गर्न प्रयास तीव्र पारिएको छ। तुइन खोलाको पूर्वी भेगमा लगातार पहिरो खसिरहेकाले सडक खुलाउने काममा कठिनाइ आइरहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर कृष्ण आचार्यका अनुसार, यदि मौसम अनुकूल रह्यो र पहिरो झर्न रोकिन्छ भने आज दिउँसो ३ बजेसम्म सडक खोल्न सकिने सम्भावना छ।
उनका अनुसार बिहान ६ बजेदेखि पहिरो हटाउने काममा चारवटा डोजर खटाइएको छ, दुई मुग्लिनतर्फबाट र दुई नारायणगढतर्फबाट। स्थान अभावका कारण थप मेसिन परिचालन गर्न नसकिएको जनाइएको छ।
हाल सडकमा अझै पनि ३५ मिटर लामो पहिरो थुपारिएको छ। माथिल्लो भागमा कमजोर चट्टान भएका कारण थप पहिरो खस्ने जोखिम कायमै रहेको छ। “काम चलिरहेको छ, तर कहिले थप पहिरो आउला भन्ने निश्चित छैन,” इञ्जिनियर आचार्यले भने।
सयौं सवारी बीच बाटोमै रोकिए
असोज ३ गते साँझ ६ बजे गएको ठूलो पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध बनेको हो। सडक अवरुद्ध हुँदा सयौं सवारी साधन दुवैतर्फ बाटोमै रोकिएका छन्।
भरतपुरबाट जाने सवारीहरूलाई: टाँडी, भण्डारा, आँपटारी, जुगेडी र रामनगर क्षेत्रमा रोकिनु परेको छ।
काठमाडौंबाट आउने सवारीहरूलाई: कुरिनटार, मुग्लिन र फिस्लिङमा थुनिएको छ।
यात्रुहरूलाई निःशुल्क राहत सेवा
अवरुद्ध यात्रुहरूका लागि विभिन्न सामाजिक संघसंस्था र स्वयंसेवी समूहले निःशुल्क खाना, पानी र खाजा वितरण गर्न थालेका छन्।
– मुग्लिन बजारमा यात्रुहरूलाई जेसीज इच्छाकामनाको अगुवाइमा राहत वितरण भइरहेको छ।
– नारायणगढतर्फबाट पनि स्थानीय संघसंस्थाले चाउचाउ, बिस्कुट, पानी बाँडिरहेका छन्।
– यातायात मजदुरहरूका लागि व्यवसायीहरूले निःशुल्क भोजनको व्यवस्था मिलाएका छन्।

























